बिरगंजमा अनलाइन ठगी गिरोह पक्राउ — १० करोडभन्दा बढी अवैध कारोबारको रहस्य खुल्यो

समाचार

बिरगंज, २८ कात्तिक।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठकको सक्रिय नेतृत्वमा विराट अनलाइन ठगी नेटवर्क भण्डाफोर भएको छ। बिशेष सूचनाको आधारमा पर्सा प्रहरीले सो गिरोहका तीन सदस्यलाई पक्राउ गरी ठूलो मात्रामा डिजिटल प्रमाण तथा बैंक कार्ड बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार मिति २०८२/०७/२६ गते दिउँसो १२:०० बजे वीरगञ्ज महानगरपालिका–८ स्थित प्रभु अस्पताल अगाडिको सडकखण्डबाट सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्दै आएका व्यक्तिहरूलाई पक्राउ गरिएको हो।


ठगीको शैलीः Money Mule Account देखि AI–बनावट कागजातसम्म

पक्राउ परेकाहरूले सर्वसाधारणलाई प्रलोभनमा पारी विभिन्न बैंकका Money Mule Account खोलाइ, ती खाताहरूलाई सामाजिक सञ्जालमार्फत सञ्चालन हुने

  • Phishing,
  • OTP Fraud,
  • Job Scam,
  • Fake Online Business Scam
    जस्ता आपराधिक कार्यमा प्रयोग गर्दै आएका थिए।

यसबाहेक, प्रहरीले जनाएको अनुसार गिरोहले AI प्रविधि प्रयोग गरी विभिन्न कम्पनीका नक्कली कागजात र अर्डर बिल समेत तयार गरी ठूलो परिमाणमा ठगी कार्य गर्दै आएको थियो।


१० करोडभन्दा बढी अवैध कारोबार

प्रहरीले पक्राउ परेकाहरूका विभिन्न व्यक्तिका बैंक खाता र डिजिटल वालेट प्रयोग गरी १० करोड रुपैयाँभन्दा बढीको अवैध वित्तीय कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको जनाएको छ।

छापामारीका क्रममा बिभिन्न बैंकका ४३ थान ATM कार्ड समेत बरामद गरिएको छ।


पक्राउ परेका व्यक्तिहरू

१. कृष्णा प्रसाद साह

  • उमेर : ३५ वर्ष
  • ठेगाना : वीरगञ्ज महानगरपालिका–२९, मुसैली

२. नाबालक

  • उमेर : १४ वर्ष
  • ठेगाना : सोही क्षेत्र (पूरा विवरण गोप्य राखिएको)

३. राहुल मण्डल

  • उमेर : २१ वर्ष
  • ठेगाना : बारा, बिश्रामपुर गाउँपालिका–१

म्याद थप गरी थप अनुसन्धान जारी

पक्राउ परेकाहरूविरुद्ध बैंकिङ कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले डिजिटल अपराध, अनलाइन ठगी तथा वित्तीय साइबर सुरक्षासम्बन्धी सचेतना अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *