पर्साका एसपी पाठकको लागुऔषध नियन्त्रण अभियान तीव्र,गाँजा सहित तीन भारतीय नागरिक पक्राउ

समाचार

बिरगंज, २८ कात्तिक ।
पर्सा प्रहरीले पछिल्ला दिनमा लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। अभियानलाई प्रभावकारी बनाउन सक्रिय पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकको निर्देशनमा गरिएको विशेष अपरेसनमार्फत तीन जना भारतीय नागरिक लागुऔषध गाँजा सहित पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा २०८२ साल कात्तिक २६ गते दिउँसो करिब १२ बजेतिर पर्सागढी नगरपालिका–९ बडेर्वा पेट्रोलपम्प नजिकको सडकखण्डमा प्रहरी चौकी मनवाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारततर्फ पैदल जाँदै गरेका तीन जना शंकास्पद व्यक्तिलाई रोकेर खानतलासी गरेको थियो। कानूनी प्रक्रिया पूरा गरी गरिएको सो तलासीमा उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद समान सहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको छ। लागुऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य जारी रहेको जानकारी प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले दिए।

पक्राउ परेकाहरूको विवरण

१. राजा कुमार, उम्र २३ वर्ष

  • वतन : बैशाली जिल्ला, विदुपुर ग्राम, बिहार (भारत)
  • फेला परेको सामान : प्लास्टिक सहित ३ केजी १९० ग्राम गाँजा

२. बिशाल कुमार, उम्र २३ वर्ष

  • वतन : राजामाइकल पंचायत, बिहार (भारत)
  • फेला परेको सामान : प्लास्टिक सहित ३ केजी २५० ग्राम गाँजा

३. पिन्टु कुमार, उम्र २४ वर्ष

  • वतन : छपरा जिल्ला, सोनपुर ग्राम–३, बिहार (भारत)
  • फेला परेको सामान : प्लास्टिक सहित ३ केजी ३०० ग्राम गाँजा

जम्मा बरामद : प्लास्टिक बाहेक ९ केजी ३८० ग्राम गाँजा

लागुऔषध तस्करी नियन्त्रणका लागि पर्सा प्रहरीले सञ्चालन गरेको निगरानी, चेकजाँच तथा अपरेसन निरन्तर जारी रहेको र सीमा क्षेत्रमा अवैध क्रियाकलापलाई कठोरताका साथ नियन्त्रण गरिने प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *