पर्सा ,१६ पुस। फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। पार्टीले मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकताका साथ अघि बढाएको छ।
पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस गरिएका उम्मेदवार ओमप्रकाश सर्राफले पछिल्लो एक साताको अवधिमा वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २, १४, १५, १६, १८, २१, २३, ३१ र ३२ मा व्यापक भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। सो क्रममा उनले पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै संगठन सुदृढीकरणमा जोड दिएका छन्।
सर्राफका अनुसार ती वडाहरूमा बुथस्तरमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गरिएको छ।
संगठनलाई थप मजबुत बनाउने उद्देश्यले स्थानीय तहमा जिम्मेवारी बाँडफाँड गर्दै जनमत पार्टीको आधार विस्तारमा विशेष ध्यान दिइएको उनले बताए।
भेटघाटका क्रममा सर्राफले जनताको दैनिक जीवनसँग जोडिएका समस्या, विकासका अवरोध तथा प्रशासनिक झन्झटहरूबारे जानकारी लिँदै समाधानका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र आधारभूत पूर्वाधारलाई आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गरे।
क्षेत्र नम्बर १ का पर्यवेक्षक डा. मनोज कुमारका अनुसार भेटघाटका क्रममा स्थानीय बासिन्दाले उठाएका समस्याहरू तत्काल सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि पहलसमेत गरिएको छ।
उम्मेदवार सर्राफले जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको भिजन र नेतृत्वबाट मात्रै मधेश, प्रदेश तथा देशको समग्र विकास सम्भव हुने दाबी गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनमत पार्टीलाई स्थापित गर्न कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
जनमत पार्टी पर्साले आगामी दिनहरूमा घरदैलो अभियान, बुथस्तरीय बैठक तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने पर्यवेक्षक मनोज कुमारले जानकारी दिए। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल बढ्दै गएको छ भने जनमत पार्टीले संगठनात्मक सक्रियतामार्फत आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको देखिन्छ।
भेटघाट टोलीमा विध्यालाल प्रसाद, सीए देवराज, निराजन कुशवाहा, नागेन्द्र गुप्ता, सहनवाज राकि लगायतको सक्रिय सहभागिता रहेको थियो।
