काठमाडौं, पुस १५ । प्रधानमन्त्री सुशीला कार्कीले तमु ल्होसारको अवसरमा सांस्कृतिक विविधता नेपालको गौरव र शक्ति भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताउनुभएको छ।
टुँडिखेल, काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले तमु ल्होसारले समाजमा मेलमिलापको सन्देश फैलाउने र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउने उल्लेख गर्नुभयो।
घोडा वर्गको नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले घोडालाई शक्ति, साहस, गति र कर्मठपनाको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। यही सकारात्मक ऊर्जा आत्मसात् गर्दै देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र गतिमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्रीले नेपाली समाजको विशेषता कठिन परिस्थितिमा पनि आपसी सहकार्य र संवादमार्फत समाधान खोज्ने संस्कार भएको बताउँदै मतभेदका बाबजुद शान्तिपूर्ण मार्ग रोज्नु नै लोकतान्त्रिक संस्कार भएको उल्लेख गर्नुभयो। उहाँले समाजभित्र असन्तुष्टिका साथै प्रेम, करुणा र आत्मीयताको गहिरो भाव रहेको पनि स्पष्ट पार्नुभयो।
पछिल्ला घटनाक्रमबाट पाठ सिक्दै सरकार शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माणमा अग्रसर भएको प्रधानमन्त्री कार्कीको भनाइ छ। त्यसको आधार स्वच्छ र निष्पक्ष निर्वाचन भएको उल्लेख गर्दै उहाँले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि देशभर सकारात्मक वातावरण बन्दै गएको जानकारी दिनुभयो।
प्रधानमन्त्रीका अनुसार राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन्, जसलाई निर्वाचन सम्पन्न गर्ने दिशामा महत्वपूर्ण कोशेढुंगा मानिएको छ। यसका लागि राजनीतिक दलको नेतृत्व र युवाहरूले देखाएको सुझबुझप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल, नागरिक समाज र आम नेपालीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले मुलुकलाई अब अस्थिरता होइन, स्थायित्व र विश्वास आवश्यक रहेको उल्लेख गर्दै शान्ति, एकता र समृद्धिको मार्गमा एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो।
अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीले तमु ल्होसारको अवसरमा सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
