महोत्तरी, पौष १५।
सशस्त्र प्रहरी बल नेपाल स्थापना भएको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा प्रथम पूर्व सशस्त्र प्रहरी सम्मेलन तथा १८औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
कार्यक्रममा पूर्व तथा बहालवाला सशस्त्र प्रहरी अधिकारीहरू, संघका पदाधिकारी, प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा सशस्त्र प्रहरी बलको स्थापना कालदेखि हालसम्मको योगदान, पूर्व सशस्त्र प्रहरीहरूको अनुभव, संगठनको संस्थागत विकास तथा भविष्यका चुनौती र अवसरबारे व्यापक छलफल गरिएको थियो। साथै, संघको १८औँ साधारण सभामार्फत वार्षिक प्रतिवेदन प्रस्तुत, संगठनात्मक गतिविधिको समीक्षा तथा आगामी कार्ययोजनाबारे निर्णयहरू समेत गरिएको छ।
प्रमुख अतिथि अर्यालले सशस्त्र प्रहरी बलले राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै पूर्व सशस्त्र प्रहरीहरूको अनुभव र योगदान राष्ट्रका लागि अझै पनि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमले पूर्व र बहालवाला सशस्त्र प्रहरीबीच आपसी सम्बन्ध सुदृढ गर्दै संगठनको गरिमा र एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
