जनकपुरधाम, धनुषा,२० पुस।
TikTok लगायत सामाजिक सञ्जाल प्रयोग गरी धार्मिक अफवाह फैलाउने तथा मस्जिदमा तोडफोड गर्ने घटनामा संलग्न तीन जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ।
प्रहरीका अनुसार TikTok मार्फत समुदाय लक्षित अपशब्द प्रयोग गर्दै धार्मिक भावना भड्काउने खालको भिडियो पोष्ट गरेको अभियोगमा धनुषा जिल्लाको कमला नगरपालिका–६ निवासी १९ वर्षका हैदर अंसारी र अमानत अंसारी लाई नियन्त्रणमा लिइएको हो।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ अनुसार धर्मसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत धनुषाबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, TikTok मा पोष्ट गरिएको उक्त भिडियोको विषयलाई लिएर मिति २०८२ पुस १९ गते अपराह्न करिब २ बजेको समयमा कमला नगरपालिका–६ सखुवा टोलस्थित मस्जिदमा तोडफोड गरी कागजपत्र निकाल्ने तथा धार्मिक ग्रन्थ जलाउने कार्यमा संलग्न २५ वर्षका कपिल भन्ने राम प्रताप साह लाई पनि पक्राउ गरिएको छ। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ अनुसार धर्मसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। सो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
धनुषा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम ले सामाजिक सञ्जाल TikTok, Facebook, WhatsApp लगायत माध्यमबाट कसैको धार्मिक आस्थामाथि चोट पुग्ने खालका स्टाटस, अडियो वा भिडियो पोष्ट, लाइक, शेयर वा कमेन्ट गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।
प्रहरीले धनुषा जिल्लामा सामाजिक सद्भाव, शान्ति र सहिष्णुता कायम राख्न सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, धार्मिक अगुवा, अधिकारकर्मी, नागरिक समाज तथा सर्वसाधारणलाई जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अनुरोध समेत गरेको छ।
