काठमाडौं, जेठ २७।काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार बिहान अन्दाजी २:५२ बजे विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिएपछि नियन्त्रणका लागि ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा अन्य सरोकारवाला निकाय परिचालन गरिएको थियो।
करिब तीन घण्टाको प्रयासपछि बिहान ५:४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज पूर्ण रूपमा नष्ट भएको छ। साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत उल्लेखनीय क्षति पुगेको छ। आगोको प्रभावका कारण लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुईवटा घरमा आंशिक क्षति भएको बताइएको छ।
यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। समयमै सुरक्षाकर्मी, दमकल तथा स्थानीयवासीको सक्रियताका कारण मानवीय क्षति हुन नपाएको अधिकारीहरूको भनाइ छ।
प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्टका कारण आगलागी भएको देखिए पनि घटनाको विस्तृत कारण तथा क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले बसुन्धारा क्षेत्रका व्यवसायी तथा स्थानीयवासीलाई त्रसित बनाएको छ भने ठूलो आर्थिक क्षतिका कारण गार्मेन्ट व्यवसायमा समेत गम्भीर असर परेको बताइएको छ।
