(‘उज्यालो वीरगञ्ज’ अभियानले फेरिँदै सहरको स्वरूप, गाउँ–टोलसम्म पुग्यो आधुनिक प्रकाश व्यवस्था)
वीरगञ्ज, असार ५ — वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘उज्यालो वीरगञ्ज’ अभियानले सहरको रात्रीकालीन स्वरूपमा उल्लेखनीय परिवर्तन ल्याएको छ। मुख्य सडक, चोक, धार्मिक स्थल, पार्क, पुल तथा ग्रामीण बस्तीहरूमा आधुनिक बत्ती जडान र विद्युत व्यवस्थापन सुधारका काम तीव्र रूपमा अघि बढेपछि वीरगञ्ज झिलिमिली र आकर्षक बन्दै गएको हो।
सहरको पहिचानका रूपमा रहेको घण्टाघर, शंखधर साख्वा पार्क, गहवामाई मन्दिर, बौधीमाई मन्दिर, रामजानकी मन्दिर, गीता मन्दिर, विन्दवासिनी मन्दिर तथा तिलावे पुल क्षेत्रमा आधुनिक प्रकाश व्यवस्था जडान गरिएपछि ती स्थानहरू रातिको समयमा थप आकर्षक देखिन थालेका छन्।
त्यसैगरी, घण्टाघरदेखि पावरहाउस चोकसम्मको सडक डिभाइडरमा आधुनिक बत्ती जडान गरिएपछि सडकको सौन्दर्य मात्र नभई यात्रुहरूको आवत–जावत पनि सुरक्षित र सहज बनेको छ।
वीरगञ्ज–रक्सौल सीमाक्षेत्रसमेत अहिले आधुनिक र व्यवस्थित नाकाका रूपमा विकसित हुँदै गएको छ। रातिको समयमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले सीमाक्षेत्रलाई आधुनिक विदेशी सहरजस्तै उज्यालो, व्यवस्थित र आकर्षक भएको अनुभव गर्ने गरेका छन्। आधुनिक प्रकाश व्यवस्था, सुन्दर सजावट र व्यवस्थित सडक संरचनाले सीमावर्ती क्षेत्रको स्वरूप नै परिवर्तन गरेको छ।
महानगरपालिकाका अनुसार सडक बत्ती मर्मत, नयाँ बत्ती जडान तथा विद्युत लाइन सुधारका कार्य निरन्तर सञ्चालन भइरहेका छन्। महानगरको विद्युत शाखाका प्रमुख इन्जिनियर राजीव उपाध्यायको सक्रियतामा विद्युत आपूर्तिसम्बन्धी प्राविधिक समस्या समाधान, अनियमितता नियन्त्रण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्य भइरहेको छ।
महानगरपालिकाले मुख्य सहरी क्षेत्रसँगै गाउँ–गाउँ र टोल–टोलसम्म विकासका कार्यक्रम विस्तार गर्दै ‘उज्यालो सहर’को अवधारणालाई व्यवहारमा उतारिरहेको जनाएको छ।
स्थानीयवासीहरूका अनुसार, विगतमा अन्धकार रहने धेरै स्थानहरू अहिले पूर्ण रूपमा उज्यालो बनेका छन्। यसले नागरिक सुरक्षामा सुधार ल्याउनुका साथै रात्रीकालीन आवत–जावत, व्यापारिक गतिविधि तथा सार्वजनिक स्थलहरूको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
झिलिमिली बत्तीले सजिएको घण्टाघर, शान्त वातावरणमा चम्किरहेको शंखधर साख्वा पार्क, उज्यालो बनेका मन्दिर परिसर, आधुनिक प्रकाशले सुसज्जित तिलावे पुल तथा सीमाक्षेत्रको आकर्षक दृश्यले अहिले वीरगञ्जलाई नयाँ पहिचान दिलाइरहेको छ।
महानगरपालिकाले ‘उज्यालो वीरगञ्ज’ अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा बाँकी क्षेत्रहरूमा समेत आधुनिक प्रकाश व्यवस्था विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। उज्यालो, सुरक्षित, व्यवस्थित र आधुनिक वीरगञ्ज निर्माणतर्फको यो अभियान अहिले सहरको नयाँ परिचयका रूपमा स्थापित हुँदै गएको छ।
