६५ सार्वजनिक सवारी चालकको आँखा परीक्षण सम्पन्न, सुरक्षित यात्रामा जोड

समाचार

वीरगञ्ज, ६ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको ‘ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३’ अन्तर्गत सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

‘ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ६५ जना सार्वजनिक सवारी चालकहरूको आँखा परीक्षण गरिएको हो। वीरगञ्ज कम्युनिटी आई सेन्टरको सहयोगमा सम्पन्न कार्यक्रम ट्राफिक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक राजु कार्की, जनप्रतिनिधि, यातायात व्यवसायी, सार्वजनिक सवारी चालक तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

ट्राफिक प्रहरीले चालकहरूको नियमित स्वास्थ्य परीक्षणले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। चालकको दृष्टि क्षमता सुरक्षित यात्राको प्रमुख आधार भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

सवारी चालकहरूको स्वास्थ्य अवस्थाप्रति सचेतना अभिवृद्धि गर्दै सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम ट्राफिक जनचेतना अभियानको चौथो दिन सम्पन्न भएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *