२० वर्षपछि हत्याका आरोपी पक्राउ, पुर्पक्षका लागि जेल चलान

समाचार

बारा, ६ असार। दुई दशकअघि बारा जिल्लामा भएको एक जघन्य हत्या प्रकरणका फरार आरोपीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशपछि पुर्पक्षका लागि जेल चलान गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०६२ असोज ३ गते बिहान करिब १० बजे तत्कालीन मोतिसर गाविस–९ (हाल कलैया उपमहानगरपालिका–१८) निवासी ४० वर्षीय सितल प्रसाद चौरसिया नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट ड्युटी सकेर घर फर्किने क्रममा हत्या भएका थिए।

प्रहरीका अनुसार जग्गासम्बन्धी पुरानो रिसइबीका कारण तत्कालीन प्रसौनी गाविस–५ (हाल प्रसौनी गाउँपालिका–१) स्थित दुधौरा खोलाको बगरमा उनीमाथि धारिलो हतियार प्रहार गरी घाँटी काटेर हत्या गरिएको थियो।
घटनापछि फरार रहेका मुख्य आरोपी श्यामबाबु प्रसाद चौरसिया लाई प्रहरीले २०८३ जेठ १३ गते पक्राउ गरेको जनाएको छ। लामो समयसम्म फरार रहेका आरोपीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया पूरा गरेपछि बारा जिल्ला अदालतमा पेश गरिएको थियो।

अदालतले २०८३ असार ५ गतेको आदेशमार्फत श्यामबाबु प्रसाद चौरसियालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउन प्रहरीले निरन्तर प्रयास जारी राखेको र पुराना घटनाका आरोपीहरूलाई समेत खोजी गरी कारबाहीको दायरामा ल्याइने बताए।

यो पक्राउसँगै करिब २० वर्षदेखि अधुरो रहेको हत्या प्रकरणको अनुसन्धानले नयाँ मोड लिएको तथा पीडित परिवारले न्याय पाउने आशा बढेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *