काठमाडौं ,६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सान्सद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कडा आलोचना गर्दै लामो समयदेखि थन्किएका ठूला भ्रष्टाचारका मुद्दा तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले विगत ३५ वर्षदेखि राजनीतिक प्रभावका कारण अख्तियार कमजोर बनेको आरोप लगाए। उनले “ठूला भ्रष्टाचारीलाई संरक्षण गर्ने काम भएको” दाबी गर्दै अख्तियारले एनसेल, वाइडबडी, मेलम्ची लगायतका चर्चित भ्रष्टाचारका फाइलहरू वर्षौंदेखि दराजमा थन्काएर राखेको टिप्पणी गरेका छन्।
शाहीले ती फाइलहरूमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउँदै सम्माननीय प्रधानमन्त्रीलाई सम्बोधन गरेर “बाँधेर हुन्छ कि थुनेर हुन्छ, ठूला माछालाई कानुनी दायरामा ल्याउनुपर्छ” भन्ने सन्देश दिएका छन्।
उनले देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि उच्च तहका व्यक्तिमाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरू सरकारको साथमा रहने बताएका छन्।
शाहीको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा भ्रष्टाचार नियन्त्रण, अख्तियारको भूमिका तथा लामो समयदेखि चर्चामा रहेका ठूला मुद्दाहरूको अनुसन्धानबारे पुनः बहस सुरु भएको छ।
