एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा सशस्त्र प्रहरीले रु. ६ लाख ७७ हजार बराबरको मोबाइल पार्टससहित मोटरसाइकल बरामद

समाचार

रसीद आलम

बिरगंज, १४ साउन ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साले भारतबाट अबैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइल पार्टससहित मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएका सामग्रीको कुल मूल्य रु. ६ लाख ७७ हजार ६३६ रहेको छ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको निर्देशनमा खटिएको टोलीले साउन १४ गते पर्सा जिल्ला, वीरगंज महानगरपालिका–१७ स्थित आईसीपी चोक नजिकैबाट मोबाइल पार्टस बरामद गरेको।

सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण सिंह पुजाराका अनुसार बरामद गरिएको मोबाइल पार्टस भारतबाट भन्सार छली लुकाइछिपाइ नेपाल भित्र्याइँदै गरिएको थियो। बरामद सामग्रीसँगै उक्त कार्यमा प्रयोग भएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

बरामद गरिएका सबै सामग्री र मोटरसाइकल आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रण गर्न निरन्तर अभियान सञ्चालन गर्दै आएको छ। पछिल्लो समय भारततर्फबाट विभिन्न सामान भन्सार छली नेपाल भित्र्याउने क्रम बढेपछि सुरक्षा निकाय अझ सशक्तरूपमा परिचालित भएको बताइएको छ।

सुरक्षा निकाय अझ सतर्क
सीमावर्ती क्षेत्रमा अवैध सामान तस्करी हुने क्रम बढेपछि सशस्त्र प्रहरी बलले गस्ती बढाएको छ। भारत–नेपाल सीमा नजिकैका भित्री मार्गमा विशेष निगरानी राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
“हामी सीमा क्षेत्रमा शून्य सहिष्णुता नीति अपनाएर कार्यरत छौँ। कुनै पनि किसिमको अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी सधैं तयार रहेको छ,” एसपी भट्टले बताए।
बरामद गरिएको मोबाइल पार्टस र मोटरसाइकल वीरगंज भन्सार कार्यालयमा बुझाइसकेपछि अब कानुनी प्रक्रिया अघि बढ्नेछ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *