चितवन, असार १०। भरतपुर महानगरपालिका–१० स्थित Lords Business Complex Hotel Pvt. Ltd. लाई उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उपभोक्ताहरूबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले होटलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी खानेकुरा बिक्री तथा वितरण गरेको भेटिएको प्रशासनले जनाएको छ।
अनुगमनबाट होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा (२) को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) अन्तर्गतको कसुर गरेको पुष्टि भएपछि सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार दफा ३९ उपदफा (१) को खण्ड (ख) बमोजिम रु. ३ लाख जरिवाना गरिएको हो।
साथै, अनुगमनका क्रममा बरामद गरिएका गुणस्तरहीन खाद्य सामग्री तथा खाने तेलसमेत नष्ट गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता र गुणस्तरका मापदण्ड कडाइका साथ पालना गर्न चेतावनी दिँदै उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट गरेको छ।
उक्त जानकारी जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङ द्वारा जारी सूचनामार्फत सार्वजनिक गरिएको हो।
