पर्सा, १३ असार। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत पर्साको पकाहामैनपुर गाउँपालिका–४ स्थित लहावरथकरीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।
ब्रह्मस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा आयोजित उक्त शिविर तिलगंगा आँखा अस्पताल, काठमाडौं र सामुदायिक आँखा केन्द्र, वीरगञ्जको प्राविधिक सहयोग तथा सीमा सुरक्षा गुल्म मुख्यालय लहावरथकरीको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै सामुदायिक आँखा केन्द्र, वीरगञ्जका प्रमुख महेश धामी, सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप कुमार बस्नेत, विशेषज्ञ चिकित्सक, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरमा महिला ४६ जना र पुरुष ६५ जना गरी कुल १११ जनाले निःशुल्क आँखा परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेका थिए। परीक्षणका क्रममा २० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको थियो।
ति मोतियाबिन्दुको बिरामीलाई तिलगंगा आँखा अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल थकाली नेतृत्वको चिकित्सक टोलीले सामुदायिक आँखा केन्द्र, वीरगञ्जमा सफल शल्यक्रिया सम्पन्न गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रका नागरिकलाई सुरक्षा सेवासँगै स्वास्थ्य, शिक्षा तथा जनहितका सामाजिक कार्यक्रममार्फत राज्यको सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत आयोजित आँखा शिविरबाट ग्रामीण तथा आर्थिक रूपमा विपन्न समुदायका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
स्थानीयवासीहरूले विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँमा निःशुल्क आँखा परीक्षण, परामर्श तथा उपचार सेवा पाउनु अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता जनमुखी स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
