हेटौंडा ,२ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा स्कारपियोमा सवार ६ जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो। चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि बिहान ९ बजे हेटौंडा अस्पताल पठाइएको थियो भने अन्य चार जनालाई नेपाली सेनाको हेडक्वार्टरमार्फत बिहान ९ः१५ बजे काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको थियो।
छाउनी अस्पतालमा उपचाररत रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको बिहान १०ः२९ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा स्कारपियो चालक दाङ, राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश दाङ, तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार बैतडी, दशरथचन्द नगरपालिका–७ का ५१ वर्षीय तारादत्त बडु, उनका २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया छोरी रिता बडु रहेका छन्।
चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुको अवस्था मध्यम रहेको छ। मुख्य न्यायाधीश गोकर्ण डाँगी र रितेन्द्र बडुको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ। रिता बडुको अवस्था गम्भीर रहेको छ।
दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
