काठमाडौं ,२ भदौ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
चारदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आउनुभएका सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो। भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ आइतबार नेपाल आउनुभएको हो। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो।
नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।
यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो। भेटमा नेपाल–भारतबीचको सैन्य सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको थियो।
सेनाध्यक्ष सेठको नेपाल भ्रमणलाई दुई देशबीचको लामो समयदेखिको रक्षा तथा सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
