कम्पनीबाट १५ क्विन्टल फलाम चोरी, जितपुरमा एक जना पक्राउ

समाचार

बारा,१३ भदौ  । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ नितनपुर चोकस्थित एक कम्पनीबाट करिब १५ क्विन्टल फलाम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय जितपुर, बाराका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.व.ना.नि.) उमेश निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले फलाम चोरी गरेको आरोपमा जिल्लाको गढीमाई नगरपालिका–८ रमौलीका ३४ वर्षीय मिथलेस सहनीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८३ साल भदौ १३ गते दिउँसो करिब १२ः२० बजे जितपुरसिमरा उपमहानगरपालिका–९ नितनपुर चोकस्थित नारायणी स्पार्स प्रा.लि. कम्पनी परिसरमा रहेको आई–बिम तथा सी–च्यानललगायतका फलाम चोरी भएको जानकारी प्राप्त भएको थियो।

कम्पनीमा रहेको करिब १५ क्विन्टल फलाम, जसको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त फलाम गढीमाई नगरपालिका–८ रमौली निवासी मन्सी सहनीका छोरा मिथलेस सहनीले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

चोरी गरिएको फलाम जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर नजिकै रहेको लेथ हाउसमा बिक्री गरिएको भन्ने जानकारी कम्पनी पक्षले प्रहरीलाई गराएको थियो। उक्त जानकारी प्राप्त भएपछि दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोप लागेका सहनीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा ल्याएको हो।
प्रहरीले चोरी भएको भनिएको फलाम कहाँबाट कसरी चोरी गरिएको थियो, त्यसमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन तथा चोरीको फलाम खरिद–बिक्रीमा संलग्न व्यक्तिहरूको भूमिकालगायतका विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा संलग्नता पुष्टि भएमा उनीहरूमाथि समेत कानुनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ।
पक्राउ परेका सहनीमाथि चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *