वीरगन्ज ,१७ भदौ । वीरगन्ज महानगरपालिकाले शहरमा अव्यवस्थित रूपमा फैलिएका इन्टरनेट तथा टेलिभिजन केवलका तार व्यवस्थापन गर्न अभियान सुरु गर्ने भएको छ। महानगरपालिकाले बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पहिलो चरणमा वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चोकसम्म सडक तथा पोलहरूमा जथाभावी टाँगिएका इन्टरनेट र टिभी केवलका तार हटाउने तथा व्यवस्थित गर्ने कार्य गरिनेछ।
महानगरपालिकाको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले तार व्यवस्थापन अभियान अघि बढाउने निर्णय गरेको हो। बैठकमा इन्टरनेट तथा टिभी केवल सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा ७ वटा इन्टरनेट सेवा प्रदायक र १ वटा टिभी केवल सेवा प्रदायक संस्थाका प्रतिनिधि सहभागी थिए।
बैठकले महानगरपालिकाले पटक–पटक बोलाउँदा पनि अनुपस्थित हुने तथा अभियानमा आवश्यक सहयोग नगर्ने सेवा प्रदायक संस्थामाथि प्रचलित कानुन तथा महानगरपालिकाको नियमअनुसार कारबाही गर्ने सहमति समेत गरेको छ।
वीरगन्ज महानगरपालिकाले शहरको सौन्दर्यीकरण, सडक तथा सार्वजनिक संरचनाको सुरक्षा र तारजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
अव्यवस्थित रूपमा पोलमा गुजुल्टिएका तारका कारण शहरको स्वरूप बिग्रनुका साथै दुर्घटना तथा विद्युत् सुरक्षासम्बन्धी जोखिम बढ्दै गएको अवस्थामा महानगरको यो अभियानलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। पहिलो चरणको अभियानको प्रभावकारिताका आधारमा महानगरका अन्य क्षेत्रमा समेत तार व्यवस्थापनलाई निरन्तरता दिइने बताइएको छ।
