पथलैयामा घरनजिकै अचेत अवस्थामा भेटिएका ५४ वर्षीय पुरुषको मृत्यु

समाचार

बारा ,६ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, १ नम्बर पुल नजिकै अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार साँझ करिब ६ बजे पथलैया निवासी जनकबहादुर थापाका ५४ वर्षीय छोरा राम थापा आफ्नै घरबाट करिब १०० मिटर पूर्वतर्फ अचेत अवस्थामा लडिरहेको अवस्थामा फेला परेका थिए। आफन्तले घटनाबारे साँझ ६ः४० बजे प्रहरी चौकी पथलैयालाई जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले थापालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा साँझ ६ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन। शव हाल सिमरा नगर अस्पतालमै राखिएको छ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा सोकोसहितको मुचुल्का टोली घटनास्थलमा खटिएको छ। घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *