नवलपरासी, असोज १० । निरन्तर वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारूटोल डुबानमा परेको छ। डुबानका कारण जोखिममा परेका स्थानीयवासीको नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
नारायणी नदीको जलस्तर बढ्दै गएपछि बस्तीमा पानी पस्न थालेसँगै नेपाली सेना, गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोली परिचालन गरिएको थियो। टोलीले अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गरी जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित रूपमा उद्धार गरेको हो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार टोलीले प्रभावित क्षेत्रमा निरन्तर निगरानी तथा आवश्यक उद्धार कार्यलाई प्राथमिकतामा राखेको छ। बाढी तथा डुबानको जोखिम बढिरहेका बेला स्थानीयवासीलाई सतर्क रहन र सुरक्षा निकायले दिएको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
