बारा,१० असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक मोरङको लेटाङ नगरपालिका–१ निवासी मेखबहादुर मगरका करिब ३५ वर्षीय छोरा योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको थियो।
तर, राति ११ः५० बजे उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिका–२१ निवासी करिब ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरीले जनाएको छ।
