जनकपुरधाम, ३ माघ।
पूर्व सांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गर्ने भएका छन्। उनले यही माघ ५ गते जनकपुरधामस्थित जगत जननी माता सीताको जन्मस्थलमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुँदै आफ्नो नयाँ राजनीतिक यात्राको सुरुवात गर्ने घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै सिंहले देश र मधेशमा भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध स्वतन्त्र रहँदा उठाउँदै आएको आवाज अब पार्टीभित्र रहेर अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “यही माघ ५ गते जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी हुँदै म नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दैछु। देश र मधेशमा रहेको भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ।”
सिंहले मधेशमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण नागरिकलाई पनि उक्त कार्यक्रममा जोडिन आह्वान गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेशमा प्रभाव राख्ने सिंहको प्रवेशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संगठनात्मक रूपमा थप बलियो बनाउने अपेक्षा गरिएको छ। रास्वपाले पनि उनको आगमनलाई पार्टी विस्तार र मधेश केन्द्रित मुद्दा उठानका लागि महत्वपूर्ण कदमका रूपमा लिएको बताइएको छ।
