काठमाडौं,३ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूको सुरक्षा चुनौतीका विषयमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा नेपाल बैंकर्स संघका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ।
राष्ट्र बैंकमा भएको बैठकमा पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका सुरक्षा जोखिम, सम्भावित आपराधिक गतिविधि तथा कर्मचारी सुरक्षाका विषयमा गम्भीर समीक्षा गरिएको बताइएको छ। छलफलका क्रममा बैंक तथा वित्तीय संस्थामा सुरक्षात्मक व्यवस्था थप सुदृढ बनाउने, जोखिम न्यूनीकरणका लागि संयुक्त रणनीति बनाउने र सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको स्रोतले जनाएको छ।
बैठकमा गभर्नर पौडेलले बैंकिङ प्रणाली सुरक्षित भए मात्रै वित्तीय स्थायित्व कायम रहने भन्दै सुरक्षा निकायसँग समन्वयलाई अझ बलियो बनाउने आवश्यकता औँल्याउनुभएको थियो।
प्रहरी महानिरीक्षक कार्कीले बैंकिङ क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक कदम चालिने र सम्भावित जोखिम नियन्त्रणका लागि सक्रियता बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
बैठकमा नेपाल बैंकर्स संघका पदाधिकारीहरूले पनि बैंक तथा वित्तीय संस्थामा देखिएका चुनौतीबारे आफ्नो धारणा राख्दै सुरक्षा सुधारका लागि सहकार्य गर्न तयार रहेको बताएका थिए।
