पर्वत ,११ असोज । कालीगण्डकी नदीको बहाव अचानक बढेर बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ठूलो भौतिक क्षति भएको छ। नदीको तीव्र बहावले बस्तीका २५ घर बगाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार असोज ११ गते बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पसेको थियो। फर्सेमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू समेत जोखिममा परेका छन्।
नदीको बहाव र बस्तीमा उत्पन्न जोखिमका कारण स्थानीय बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घटनामा हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
घटनास्थल आसपास पहिरोसमेत गएको कारण तत्काल प्रहरी टोली घटनास्थलसम्म पुग्न सकेको छैन। फर्से क्षेत्र प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
घटनाको विस्तृत क्षतिको विवरण संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनास्थलको अवस्था बुझ्ने र थप क्षति हुन नदिन आवश्यक पहल गरिरहेको छ।
