पर्सामा सशस्त्र प्रहरीको कारबाही तीव्र : ई–लोडरसहित १४ लाख ३६ हजारभन्दा बढीका अवैध सामान बरामद

समाचार

वीरगञ्ज ,२४ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले भन्सार छली गरी ल्याइँदै गरेका सामानविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ। गणबाट खटिएको टोलीले वीरगञ्जका विभिन्न स्थानबाट दुईवटा ई–लोडरसहित करिब १४ लाख ३६ हजार रुपैयाँ मूल्यका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार २०८३ असोज २३ गते वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिलबिजकबिना दुईवटा ई–लोडरमा लोड गरी ल्याउँदै गरेका सामान बरामद गरेको हो।

टोलीले भन्सार मूल्य ३ लाख ३४ हजार ९४५ रुपैयाँ बराबरका कपडा, भाँडाकुँडा, टमाटर तथा किराना सामान बरामद गरेको थियो। त्यसैगरी, उक्त सामान ओसारपसारमा प्रयोग गरिएका दुईवटा ई–लोडरको मूल्य १० लाख रुपैयाँ रहेको जनाइएको छ। ई–लोडरसहित बरामद सामग्रीको कुल मूल्य १३ लाख ३४ हजार ९४५ रुपैयाँ रहेको छ।

यसैगरी, सोही दिन वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ। उक्त सामानको भन्सार मूल्य १ लाख १ हजार ६९० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

दुवै स्थानबाट बरामद गरिएका सामान तथा ई–लोडरको कुल मूल्य १४ लाख ३६ हजार ६३५ रुपैयाँ पुगेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

सीमा क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ। पछिल्लो कारबाहीले भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी बढाइएको संकेत गरेको छ।

उक्त विवरण सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज क्षेत्रीले जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *