वीरगञ्ज,८ कार्तिक । पर्साको वीरगञ्जस्थित कैलाश होटलको रेस्टुरेन्टमा होहल्ला, झैँझगडा तथा कुटपिट गरेको आरोपमा दीपक तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, गएराति कैलाश होटलको रेस्टुरेन्टमा होहल्ला गर्दै झैँझगडा तथा कुटपिट भइरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले तिवारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणमा रहेका तिवारी वीरगञ्ज महानगरपालिका–१८, भवानीपुरका स्थानीय बासिन्दा हुन्। घटनापछि प्रहरीले घटनास्थलमा पुगेर विवादलाई शान्त पारेको थियो।
नियन्त्रणमा लिइएका तिवारीलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको प्रहरी निरीक्षक बिक्रम सुबेदिले जनाएका छन् । होटलको रेस्टुरेन्टमा भएको विवाद तथा कुटपिटको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
घटनाको वास्तविक कारण, विवादमा संलग्न अन्य व्यक्तिको भूमिका तथा कुटपिटसम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
