(अमलेखगञ्जमा तीनवटा सवारीसाधन दुर्घटनामा, घाइतेमध्ये बालिकासमेत)
बारा,१३ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित हेटौँडा–पथलैया सडकखण्डमा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
बिहीबार (२०८३ कात्तिक १३ गते) दिउँसो करिब १२ बजे नेपाल आयल निगमको डिपो नजिकै उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकर र वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस एकआपसमा ठोक्किएका थिए। सोही क्रममा ईभी हाइसको पछाडिबाट धरानतर्फबाट हेटौँडातर्फ आउँदै गरेको परीक्षण (अन टेस्ट) मोटरसाइकलसमेत ठोक्किन पुगेको थियो।
दुर्घटनामा ट्यांकर चालकसहित ईभी हाइसमा सवार यात्रु तथा मोटरसाइकल चालक गरी १० जना घाइते भएका छन्।
घाइते हुनेमा ट्यांकर चालक बारा जितपुरसिमरा–१६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल, ईभी चालक कास्की पोखरा महानगरपालिका–५ का ३८ वर्षीय आशिष मल्ल, पर्सा वीरगञ्ज महानगरपालिका–२ की ४५ वर्षीया समिना खातुन र उनकी २५ वर्षीया छोरी सखीना खातुन रहेका छन्।
त्यसैगरी बारा जितपुरसिमरा निवासी २२ वर्षीया आशिका श्रेष्ठ, कास्की पोखरा महानगरपालिका–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका–१६ का २४ वर्षीय सरोज गुभाजु, भारत बिहार राज्य पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, बारा प्रसौनी गाउँपालिका–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारत पश्चिम बंगाल हुग्लीकी २६ वर्षीया साबनि दास घाइते भएका छन्।
घाइतेमध्ये केहीको अमलेखगञ्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकलमा उपचार भइरहेको छ भने ईभी चालक आशिष मल्लको अमलेखगञ्जस्थित नोभाकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रारम्भिक प्रहरी विवरणमा उल्लेख छ।
दुर्घटनापछि ईभी हाइस सडकमा चल्न नसक्ने अवस्थामा पुगेकाले केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखेको छ।
प्रहरीका अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा दुर्घटनाग्रस्त सवारीसाधन हटाउने कार्य सम्पन्न भएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको थियो।
