बारा ,१९ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिकै ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
बिहिवार (२०८३ कार्तिक १९ गते) साँझ करिब ५ः३५ बजे हेटौँडा–पथलैया सडकखण्डमा वीरगन्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा, मकवानपुर पुर्याइएकोमा चिकित्सकले साँझ ६ः३९ बजे ईसीजी परीक्षण गर्दा मृत घोषणा गरेका थिए।
त्यस्तै, मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दासको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ कमाने निवासी ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा थप प्रहरी टोली खटिएको बारा प्रहरीले जनाएको छ।
दुर्घटनापछि पनि उक्त सडकखण्डमा सवारी आवागमन अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ।
