वीरगन्ज कारागारको पर्खाल नाघेर जबरजस्ती करणी मुद्दाका कैदी फरार, सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न

समाचार

वीरगन्ज,२६ कार्तिक  । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका एक कैदी वीरगन्ज कारागारबाट फरार भएका छन्। कारागारभित्रै कैदी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह तुराहा बिहीबार बिहान करिब ७ बजे कारागारको पर्खाल नाघेर फरार भएका हुन्। पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा कैद सजाय पाएका सुनिल साह तुराहा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार बिहीबार बिहान कारागारभित्र सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको आँखा छलेर तुराहा नजिकैको पर्खाल नाघ्दै फरार भएका थिए।

घटना सार्वजनिक हुनासाथ फरार कैदीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न वीरगन्ज तथा आसपासका सम्भावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिएका छन्।

कैद सजाय भोगिरहेका कैदी सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको निगरानीबाट बाहिरिएर कारागारको पर्खाल नाघ्दै फरार हुनुले कारागारभित्रको सुरक्षा निगरानी, जनशक्ति परिचालन तथा सुरक्षा प्रबन्धको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यसरी फरार हुनुले कारागार प्रशासनको सुरक्षा सतर्कता र व्यवस्थापकीय कमजोरीबारे थप समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।

अब फरार कैदीलाई तत्काल पक्राउ गरी पुनः कारागारमा ल्याउनु प्रहरी तथा कारागार प्रशासनका लागि चुनौती बनेको छ। घटनाबारे आवश्यक अनुसन्धान गरी कैदी फरार हुनुको वास्तविक कारण र सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरी पहिचान गर्नुपर्ने देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *