सशस्त्र प्रहरीद्वारा सिर्सियास्थित छठघाट सरसफाइ, पर्वलाई स्वच्छ र व्यवस्थित बनाउने अभियानमा सक्रियता

समाचार

वीरगञ्ज ,२६ कार्तिक । छठ पर्वलाई स्वच्छ, सफा र व्यवस्थित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सशस्त्र प्रहरी बलले सरसफाइ अभियानलाई निरन्तरता दिएको छ।

यसैक्रममा सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत वि.ओ.पि. ड्राईपोर्टबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानि) गजेन्द्र प्रसाद राउतको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५, सिर्सियास्थित छठघाटको सरसफाइ गरेको छ।

टोलीले छठ पर्वमा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने छठघाट परिसरलाई सफा तथा व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ कार्य गरेको सशस्त्र प्रहरीले जनाएको छ।

धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा सार्वजनिक स्थल र नदी, पोखरी तथा जलाशय आसपासका क्षेत्र सफा राख्नुका साथै स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो।

सुरक्षा प्रदान गर्ने जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सशस्त्र प्रहरीले समुदायसँग सहकार्य गरी सरसफाइ तथा जनहितका गतिविधिमा समेत सक्रियता देखाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *