देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई युवती प्रहरी नियन्त्रणमा

समाचार

भैरहवा, रुपन्देही,२६ कार्तिक । नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत सार्वजनिक स्थानमा सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका विभिन्न स्थानमा परम्परागत देउसी–भैलो कार्यक्रमको नाममा नेपाली मौलिक कला तथा संस्कृतिको प्रतिकूल हुने गरी अश्लील नृत्य प्रदर्शन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा कारबाही प्रक्रिया अघि बढाएको हो।

सोही क्रममा मिति २०८३ साल कार्तिक २६ गते राति करिब १२ः०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरी नियन्त्रणमा पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।

उनीहरूलाई सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रम नेपाली मौलिक कला, संस्कृति, सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धि गर्ने पर्वसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक परम्परा भएकाले यसको मर्यादा कायम राख्न सबैमा आग्रह गरेको छ।

देउसी–भैलोका नाममा स्वेच्छाचारी तथा अमर्यादित ढंगले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरी सामाजिक शिष्टाचार र सांस्कृतिक मूल्य–मान्यताविपरीतका गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले उक्त घटनाबारे जानकारी दिँदै यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *