दक्षिणकाली–हेटौँडा सडकमा रातिको सवारी सञ्चालनमा कडाइ, बिहान ५ बजेदेखि मात्रै गाडी चलाउन पाइने

समाचार

(सवारी चालकले अत्यधिक तनावमा लामो समयसम्म सवारी चलाउनु, एउटै दिनमा धेरै पटक ट्रिप गर्नुपर्ने बाध्यता तथा अनिद्राका कारण दुर्घटनाको जोखिम बढिरहेको प्रशासनको निष्कर्ष छ।)

काठमाडौं,२८ कार्तिक  । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा भाडाका सवारी साधनको सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समयसीमा निर्धारण गरेको छ। पछिल्लो समय उक्त सडकखण्डमा सवारी दुर्घटना बढ्दै जाँदा मानवीय क्षति भयावह बन्दै गएको भन्दै यात्रु तथा चालकको सुरक्षालाई मध्यनजर गरी रातिको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८३ साल कात्तिक २७ गते जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार अब काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक तथा भाडाका सवारी साधन बिहान ५ बजेदेखि मात्रै सञ्चालन गर्न पाइनेछ। त्यस्तै, काठमाडौं हुँदै हेटौँडातर्फ जाने सवारी साधन बेलुका ८ बजेसम्म अनिवार्य रूपमा फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा उक्त सडकखण्डमा साँघुरा सडक, भिरालो तथा घुम्तीहरू, सडकको कमजोर अवस्था, सवारी साधनको प्राविधिक अवस्था र चालकको लापरवाहीका कारण बारम्बार गम्भीर प्रकृतिका दुर्घटना हुने गरेको उल्लेख छ।

विशेषगरी तीव्र गति, रातिको समयमा पर्याप्त उज्यालो नहुनु, सवारी चालकले अत्यधिक तनावमा लामो समयसम्म सवारी चलाउनु, एउटै दिनमा धेरै पटक ट्रिप गर्नुपर्ने बाध्यता तथा अनिद्राका कारण दुर्घटनाको जोखिम बढिरहेको प्रशासनको निष्कर्ष छ।

त्यसैगरी, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन चलाउने गरेको गुनासोसमेत प्राप्त भएको भन्दै प्रशासनले यसलाई यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पार्ने गम्भीर विषयका रूपमा लिएको छ।

जिल्ला सुरक्षा समिति काठमाडौंले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारण गरेको समयतालिकाअनुसार बल्खुबाट उक्त रुटमा चल्ने यात्रुवाहक सार्वजनिक तथा भाडाका सवारी साधन बिहान ५ बजेपछि मात्रै सञ्चालन गर्नुपर्नेछ। रातिको समयमा जोखिमपूर्ण यात्रा रोक्न हेटौँडातर्फ जाने सवारी साधन बेलुका ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी, यात्रुवाहक तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्नुअघि तिनको यान्त्रिक अवस्था पूर्ण रूपमा जाँच गर्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ। ब्रेक, टायर, लाइट, स्टेयरिङलगायतका आवश्यक प्राविधिक पक्ष दुरुस्त रहेको सुनिश्चित गरेर मात्रै सवारी सञ्चालन गर्नुपर्नेछ।

निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न काठमाडौं जिल्लाभित्र उक्त सडकखण्डमा पर्ने सम्पूर्ण प्रहरी इकाइ तथा ट्राफिक प्रहरीलाई समेत कडाइका साथ परिचालन गरिने भएको छ। प्रहरीले उक्त रुटमा सञ्चालन हुने प्रत्येक यात्रुवाहक तथा भाडाका सार्वजनिक सवारी साधनको अनिवार्य जाँच गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ।

पछिल्लो समय दक्षिणकाली–हेटौँडा सडकखण्डमा भएका दुर्घटनाले यात्रुहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाइरहेका बेला प्रशासनले चालेको यो कदमलाई दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

प्रशासनले सम्बन्धित यातायात व्यवसायी, सवारी चालक, सहचालक तथा यात्रुहरूलाई निर्धारित समयतालिका र सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।

यात्रुको जीवनभन्दा ठूलो कुनै पनि ट्रिप वा व्यवसाय हुन नसक्ने भएकाले सवारी चालक र यातायात व्यवसायीले सुरक्षा नियमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *