काठमाडौ ,२९ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति, आस्था र लोकविश्वासको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै छठ पर्वले परिवारमा सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको बताएका छन्।
भगवान् सूर्यदेव र छठी माताको आराधना गरी श्रद्धा तथा भक्तिपूर्वक मनाइने यस पर्वले मानव जीवनमा प्रकृतिप्रतिको कृतज्ञता, विश्वास र सम्मानको भावना जागृत गराउने प्रधानमन्त्री शाहको भनाइ छ।
उनले छठ पर्वले दिने महत्वपूर्ण जीवन दर्शनलाई उल्लेख गर्दै उदाउँदो सूर्यलाई मात्र नभई अस्ताउँदो सूर्यलाई समेत समान श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्परा नेपाली समाजका लागि विशेष सन्देश भएको बताएका छन्।
प्रधानमन्त्री शाहले यस परम्पराले जीवनका हरेक अवस्था र परिस्थितिलाई समान सम्मान गर्न तथा प्रकृतिप्रति कृतज्ञ रहन प्रेरणा दिने उल्लेख गरेका छन्।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशय तथा नदी किनारमा अर्घ्य अर्पण गरी पर्व सम्पन्न गरिने परम्परालाई समेत उनले आफ्नो शुभकामना सन्देशमा स्मरण गरेका छन्।
त्यसैगरी, सरकारले सबै धर्म, संस्कृति, परम्परा र आस्थाको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै छठ पर्वले समाजमा आपसी सद्भाव, एकता, सहिष्णुता र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले छठ पर्वबाट प्राप्त हुने प्रेरणाले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय संकल्प पूरा गर्न सबैलाई थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
मैथिली भाषामा पनि दिए छठको शुभकामना
प्रधानमन्त्री शाहले नेपाली भाषासँगै मैथिली भाषामा समेत शुभकामना व्यक्त गर्दै तराई–मधेशको भाषा, संस्कृति र भावनाप्रति आत्मीयता प्रकट गरेका छन्।
उनले मैथिली भाषामा भनेका छन्, “छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।”
मैथिली भाषामा व्यक्त उक्त सन्देशमार्फत प्रधानमन्त्री शाहले दीनानाथ सूर्यदेव र छठ परमेश्वरीको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्रीको यस शुभकामना सन्देशले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै नेपाली समाजमा विद्यमान विविध भाषा, संस्कृति र परम्पराप्रतिको सम्मानलाई समेत प्रतिबिम्बित गरेको छ।
अन्त्यमा उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सम्पूर्ण नेपालीमाथि सधैँ रहिरहोस् भन्ने मंगलमय कामना गरेका छन्।
