कञ्चनरूप नगरपालिकामा बुधबार बिहान ३९ केजी गाँजा फेला परेको छ । विराटनगरबाट नारायणघाट जाँदै गरेको ना५ख १५६१ नम्बरको अग्नी यातायातकाे बसमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोही कसैलाई जानकारी नै नदिई लगेज छोडि बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खबर गरेकाे थियाे । बस खानतलासी गर्दा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादवले बताए ।
उक्त जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कन्चनरूपको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा चार पोका गाजा फेला परेको डिएसपी यादवको भनाइ छ ।
चितवनमा १७ किलो अवैध लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कालिका नगरपालिका ११ मझबाङबाट गए राति अवैध लागु औषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय बुद्धिबहादुर चेपाङ र २४ वर्षीय विनोद चेपाङ रहेका छन् । घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।