बारा, १० माघ । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्याप्छ्याप्ती भएको छ । सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बाली लगाउने बेलामा भारतीय गुणस्तरहिन अवैध मल किन्न किसान बाध्य बनेका छन् ।
भारत नेपाल सीमा भएर भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्याप्छ्याप्ती भएको हो । महँगो र गुणस्तरहिन भएपनि नेपाली मलको अभावमा भारतीय मल किन्नु परेको किसानहरु बताउँछन् ।
नेपाली युरिया मल ८००देखि ९०० सम्म पर्छ । तर पाइँदैन । स्थानीय सहकारी संस्थाले मल ल्याउन नपाएको धेरै दिन भएको छ । मकै बालीलाई मल अत्यावश्यक भइसेकाले बाध्यताले भारतीय मल किन्नु परेको बारा कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैंयाका किसानहरुले बताएका छन ।
भारतबाट चोरबाटो हुँदै धामाधम मल आएकै छ । सिमामा मल तस्करहरुले दैनिक पचासौं मोटरसाइकलमा ५ बोरासम्म लोड गरेर मल आउने गरेको कलैयाका एकजना व्यापारीले बताए ।
यसरी भित्रिएका रासायनिक मल यूरिया १ हजार ३ सय देखी १ हजार ३५० रुपैयाँसम्म विक्री भइरहेको छ । खुद्रा व्यापारीले भारतबाट मल ल्याउने मल तस्करहरूसँग एक हजार २०० सम्म किन्ने गरेको उनले बताए ।
‘सरकारले प्रयाप्त दिन सक्दैन । किसानको जीवन त चोरी पैठारीबाट आउने मलले नै चलाएको छ । सिजनमा सरकारको भरपर्ने अवस्था छैन । सरकारी अनुदानको मल अभावमा मंहगो मुल्यमा भारतीय मल किन्न बाध्य छौं,’ अर्का किसानले बताए ।