रसीद आलम ।बिरगंज ,फागुन ४।पर्सा प्रहरीले नक्कली सुन सहित चार जना ठगी गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित हिमालयन होटल अगाडी सडकखण्डमा बि आर ३१पि ०६४९ भारतीय नम्बरको सेतो स्कारपियो गाडीमा बसी ३/४ जना अपरिचित व्यक्तिहरूले सर्वसाधारण मानिसहरूलाई नक्कली सुन देखाइ भ्रममा पारी ठगी गर्ने नियतले बिना बिलको विक्री गर्न लागेको भन्ने जानकारी प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राईम ब्रान्चका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरीटोलीले सो व्यक्तिहरूलाई एक किलो नक्कली सुन (बिस्कुट आकार) सहित पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।

नियन्त्रणमा लिएको सुनलाई वीरगञ्ज सुन चाँदी व्यवसायी संघ माईस्थान वीरगञ्जमा पठाइ परीक्षण गराउँदा सुनको जलप भएको धातु हो सुन होईन भन्ने परीक्षण प्रतिवेदनले प्रमाणित गरेको प्रहरी निरीक्षक थपलियाले बताएका छन ।

पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा न.पा.वडा नं.१० बस्ने वर्ष ३१ को रामबिर चौधरी ,वडा नं.६ बस्ने वर्ष ४५ को लालबाबु राय यादव ,वडा नं.१८ बस्ने वर्ष ३८ को राकेश कुर्मी र वडा नं.१७ बस्ने वर्ष २७ को अवधेश कुमार राय रहेका छन ।
निज चारै जनालाई ठगी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भैरहेको प्रवक्ता गिरिले बताएका छन् ।
