रसीद आलम,चैत २६,पर्सा ।
प्रतिबन्धित लागु औषध सहित पर्साका बेग्लाबेग्लै ठाउँबाट चारजना ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ् ।
प्रहरीका अनुसार चैत २४ गतेमा राती १०:३० बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा प्रहरी टोलीले ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुँदै संकास्पद रुपमा सेतो बोरा बोकी आउँदै गरेका जिल्ला चितवन लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिई उक्त बोराको तलासी गर्दा निजले बोकेको सेतो रङको बोरा भित्र रातो र पहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाँजा ६१ के.जी. फेला परेको हूँदा उक्त लागु औषध सहित निज राम बहादुर तामाङलाई नियन्त्रणमा लिएको हो।
निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा चैत २४ मा पर्सा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ।
त्यस्तै , चैत २६ मा साझ ४:४५ को समयमा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देउरीया स्थित प्रदेशी राउतको घरमा लागु औषध चरेश छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाका र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाहीको संयुक्त प्रहरी टोलीले निज प्रदेशी राउतको घर खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध चरेश ११८ के.जी. र गाँजा ४ के.जी फेला परेको हुँदा उक्त लागु औषधसहित निज प्रदेशी राउतलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
उक्त लागु औषध ओसारपसार तथा किन बेचमा संलग्न मकवानपुर रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान र मकवानपुर मनहरी गा.पा. वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई फेला पारी नियन्त्रणमा लिइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी गिरिले जानकारी गराएका छन् ।
