बारा, १० वैशाख । बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।
बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।
बाराको क्षेत्र नम्बर २ मा भईरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा अन्तरगत बाराको महागढीमाई नगरपालिका–२ को ईनरवास्थित मतदान केन्द्रमा पनि बुथ कब्जाको प्रयास गरिएको छ । उक्त मतदान केन्द्रमा पुगेका पत्रकारलाई समेत रोक लगाइएको छ ।
ईरनवास्थित मतदान केन्द्रमा शंकास्पद गतिविधि भइरहेको सूचना पाएर पुगेका पत्रकारहरुलाई मतदान अधिकृत दिवाकर झाले मतदान केन्द्र परिसरभित्र प्रवेशमा रोक लगाएका हुन्।
त्यसलगत्तै मतदान केन्द्र बाहिर रहेका स्थानीय केही व्यक्तिहरुले समेत पत्रकारहरुलाई दुर्व्यवहार गर्न खोजेका छन् । त्यसपछि त्यहाँ रहेका प्रहरीले सन्चारकर्मीहरुलाई उद्धार गरेका हुन् ।
यसअघि मात्रै, बाराको देवताल गाउँपालिका–७ स्थित पिपरन जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् । मतदान गर्ने क्रममा जसपाका नेता एवम् जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवलाई मतपेटिका सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार मत पेटिकामा यादवले स्वस्तिक छाप लगाएको २ वटा मत पत्र खसाउन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवलाई जिप्रका बारामा लगिएको छ।
यादव पक्राउ परेपछि जसपाका स्थानीय नेता कार्यकर्ता विवाद गरेका छन्। विवाद बढेपछि यो मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप बल मगाइएको छ। अहिले उक्त केन्द्रमा शान्तिपूर्ण मतदान भने जारी छ।
बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासन नै लागेर धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै त्यस प्रकारका गतिविधि रोक्न माग गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको बताएका छन् ।
उम्मेदवार पुरुषोत्तम पौडेलले भने, ‘ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, इनरवा , सनफुलवा, सिञ्चाई वुथ लगायत वुथहरुमा प्रहरीका सई, असई नै गठबन्धनको पक्षमा मतदान गराउन लाग्ने, कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नाङगो रुपमा देखिइरहेका छन् ।’
उम्मेदवार पुरुषोत्तम पौडेलले भने बारा २ मा भईरहेको उपनिर्वाचले गठबन्धन सरकारको माखौल उडाएको छ । स्वच्छ निर्वाचन गराउने माग गदै उनले भने, ‘म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’