उमेश गिरीले मदन भण्डारीको हत्या गर्ने जिम्मा मलाई दिने खोजेका थिएँ, मैले मानिन भनेका छन्, अब खोजबिन हुन्छः ओली

राजनीति समाचार

काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मे दिने कुरा भएको खुलासा गरेका छन् ।

 

बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’ उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको खुलासा गरेका हुन् ।

 

‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँ (मदन–आश्रित) हरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो,’ ओलीले भने, ‘नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर, यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’

 

बिराटनगरका ‘डन’ गिरी हालै जेलमुक्त भएका छन् । उनीसँग मदन भण्डारीको हत्याको योजनाका बारेमा आएको प्रस्तावको खोजी गरेमा अपराधी नजिकसम्म पुग्न सकिने ओलीले जनाएका छन् ।

 

महान सपना बोकेर पनि तीनलाई पूरा गर्न नपाउँदै हत्या गरिएका मदन भण्डारी आदर्श व्यक्ति भएको ओलीले जनाएका छन् । उनले मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद (जबज)ले बिश्व कम्युनिष्ट आन्दोलनलाई नै सही बाटो देखाउन सफल भएको समेत जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *