“नेपाल प्रहरी साइबर ब्यूरोको निर्माणाधिन भवन नेपाल र दक्षिण कोरियाको मित्रताको प्रतिकको रूपमा रहने छ ।“ – प्रहरी महानिरीक्षक कुँवर।

समाचार

काठमाडौं,१४ भदौ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा उपस्थित नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका महामहिम राजदूत Park Tae-Young र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य सुरुवातको लागि भूमि पूजन समेत गरेका थिए ।

उक्त अवसरमा राजदूत Park Tae-Young ले वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साइबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। आगामी दिनमा साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उहाँले बताएका थिए।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकासले नेपालमा मात्र नभई साइबर अपराध हाल विश्वमै ठूलो चुनौतीको रूपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । सुसज्जित साइबर व्यूरो निर्माण गर्न कोरियाली सरकार, कोईका र कोरियाली जनताको प्रशंसा गर्दै उहाँले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतिकको रूपमा रहने चर्चा गर्नुभयो ।

उक्त कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) नेपालका Country Director Mooheon Kong ले शुभकामना मन्तव्य व्यक्त गर्दै यस प्रोजेक्ट अनुरूप नेपाल प्रहरीको साइबर व्यूरोको स्तोरन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी साइबर अपराध नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहजिकरण हुने बताउनुभयो ।

सो अवसरमा साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले स्वागत मन्तव्य व्यक्त तथा भवन निर्माण सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै मित्रराष्ट्र गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) द्वारा भवन निर्माण हुन लागेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, कोईकाका प्रतिनिधिहरू, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकृतहरु लगायतको उपस्थिति थियो ।स्रोत नेपाल प्रहरी ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *