रसीद आलम,बिरगंज ,२३ फागुन ।बिल बिजक भन्दा बढी विभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेका ट्रकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
फागुन २३ गते राती १२:३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमानचोक स्थित सडकखण्डमा ना.३ ख ७५९१ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट राजबिराजतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीले जनाएको छ।
ट्रकमा अनलाइन भिसिटिएस विलमा उल्लेखित भन्दा बढी लोड रहेको तथा विल बिजक समेत संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिई सो भित्र लोड रहेको कपडा तथा खुद्रा समानहरूको उल्लेखित विल अनुसार २५ लाख ८८ हजार ९ सय ५७ रुपैया बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।