रसीद आलम,बिरगंज ,८ चैत ।
६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँ बराबरको अवैध सामानहरू सहित ५ वटा ट्रकहरूलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको आरोपमा ट्रकहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
चैत ७ गते वीरगञ्जबाट चितवन र मकवानपुरतर्फ जादै गरेको अवस्थामा रू.२९ लाख ४८ हजार ४ सय १३ बराबरको खाद्यान्न, खुद्रा तथा प्याजहरू लोड रहेको ना.३ ख ७६५६ र प्र.३-०३-००१ ख ००९८ नम्बरको मालवाहक ट्रकहरूलाई पर्साको वीरगञ्ज वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट पक्राउ गरिएको छ।त्यस्तै वीरगञ्ज म.न.पा.वडा नं.२५ चण्डालचोक स्थित सडकखण्डबाट बिआर ०५ जि ९९९२नम्बरको भारतीय पिकअप गाडीमा रु.१५ लाख ८४ हजार २१ बराबरको कुर्ता सुरवाल लोड गरी काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको तथा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकबाट वेवारिसे अवस्थामा ४ लाख रुपैया बराबरको हार्डवेयर मोटर पार्टस बरामद गरेको पर्सा प्रहरीका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

प्रहरी चौकी गण्डकले चैत ८ गते वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक स्थित सडकखण्डबाट ना.३ ख ३७४, ना.३ ख ४८७७ नम्बरको मालवाहक ट्रकहरूमा १७ लाख ७७ लाख १ सय ६० रुपैया बराबरको खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी वीरगञ्जबाट पोखरा र चितवनतर्फ जादै गरेको अवस्थामा पक्राउ गरेको छ।
पक्राउ गरिएका खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरूसहित ट्रकहरुलाई आवश्यक कारवाहीको लागि चैत ८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए।
साथै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका टोलीले बिहीबार वीरगञ्ज म.न.पा.वडा नं.९ रेल्वे रोड स्थितबाट रु.५२ हजारको कोटको चक्लेटहरू १० कार्टुन वेवारिसे अवस्थामा फेला पारी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
