रसीद आलम,बिरगंज,१८ चैत ।
पर्सा प्रहरीले अनलाइन ठगी गर्ने तथा विधुत्तीय अपराधमा सलंग्न चिनिया नागरिकहरुलाई बिरगंजबाट पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा शनिबार बेलुका ३:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाको नन्दु पटेलको घरमा कोठा भाडामा लिइ चिनिया नागरिकहरूले अनलाइन ठगी गर्ने नियतले कार्यालय संचालन गरेको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक ( एसपी )कुमोध ढुंगेलको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो घरभित्र विभिन्न किसिमका विधुतिय उपकरणहरू कम्प्युटर ,डेक्सटप,ल्यापटप,मोबाईल फोनहरू लगायतका सामानहरूसहित ५ जना चिनिया नागरिकहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
हुनान चाईना ठेगान भएको वर्ष ३३ को लिउ गुई साईलाई वीरगञ्ज म.न.पा.वडा नं.१५ बाट ,हुबाई चिन ठेगान भएको वर्ष २६ को वाङ्ग वोहानलाई वीरगञ्ज म.न.पा.वडा नं.१५ बाट ,वर्ष ३४ को झान झिलिओङ्ग लाई होटल भिष्वाबाट,वर्ष २२ को जि हुआ हुवानलाई होटल भिष्वाबाट र हुबाई चिन ठेगान भएको वर्ष ३६ को जिआङ्ग जिआओलाई वीरगञ्ज म.न.पा.वडा नं.६ वृन्दावन होटलबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।
अनलाइन लट्टरी ,अनलाइन सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाल तथा विदेशहरूबाट सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह पर्सा जिल्लामा समेत सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको गुप्तचर टिमबाट त्यस्ता गतिविधी सुक्ष्मरूपमा निगरानी गर्ने क्रममा शनिबार वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा छापामारी गरि कम्प्युटर डेक्सटप सिपिईउ -१२० थान,मनिटर-११८ थान, पासपोर्ट थान-३, मोबाईल-३५ थान, भारतीय जिओ सिम कार्ड-१३ थान,ल्यापटप- ४ थान,प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका एटीएम कार्ड -३ थान, किबोर्ड -२६ थान, ईन्टरनेट स्विच-५ थान,वाईफाई राउटर -२ थान,मिनि ईन्भर्टर -२ थान,बिआर ०१ सिएक्स ५७९२नम्बरको भारती गाडी १ थान, प्र.२-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल १ थान तथा बिभिन्न देशका मुद्राहरू बरामद गरिएको पत्रकार सम्मेलनमा एसपी ढुंगेलले जानकारी गराए।
पक्राउ परेका ५ जनाहरु मध्येबाट लिउ गुई साई,वाङ्ग वोहान र जिआङ्ग जिआओ यी ३ जना मुख्य भुमिकामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
एसपी ढुंगेलको अनुसार प्रारम्भिक अनुसन्धानबाट कल सेन्टर अफिस स्थापना गरी कर्मचारीहरू समेत राखि नेपाल, भारत, पाकिस्तान, लगायतका विभिन्न देशहरूमा रहेको व्यक्तिहरूसंग समाजिक संजाल तथा टेलीफोन मार्फत विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको देखिएको ,ठगी गरेको रकम भारतीय विभिन्न बैंकहरू मार्फत कारोबार हुने गरेको देखिएको तथा अन्य देशका विभिन्न स्थानमा विभिन्न व्यक्तिहरूलाई एजेन्ट बनाई ठगी गर्ने गरेको पाईएको छ।
यस घटनामा पक्राउ परेका व्यक्तिहरू चिनिया नागरिक रहेको र निजहरूको संवाद प्रायजसो चिनिया भाषामा रहेकोले सो सम्बन्धमा अनुसन्धान गर्न भाषाविदहरूलाई बोलाई अनुसन्धान गर्दा अन्य थप कुरा खुल्न आएमा संचारकर्मिहरुलाई जानकारी गराइनेछु सोहि अनुसार थप अनुसन्धान कार्य हुनेछ पत्रकार सम्मेलनमा एसपी ढुंगेलले बताए।