रसीद आलम,बिरगंज ,२१ बैशाख।
५० लाख ९२ हजार ५ सय चालीस बराबरको खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको दुईवटा ट्रकहरू पर्सा प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंजको घण्टाघर र गण्डक चोकबाट रु.५० लाख ९२ हजार ५ सय ४०बराबरको कपडा, खुद्रा, चिनी, र प्याजसहित दुईवटा ट्रक पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट ना.६ ख ७९७२ नम्बरको ट्रकमा रू.२० लाख १५ हजार ६ सय ८५ बराबरको कपडा तथा खुद्रा सामानहरू लोड रहेको तथा सोको बिलबिजक सन्कास्पद रहेकाले नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
त्यस्तै , वीरगञ्ज म.न.पा.वडा नं.१४ गण्डक चोक स्थित ना.८ ख ८७१२ नम्बरको ट्रकमा लोड रहेको रू.३० लाख ७६ हजार ८ सय ५५ बराबरको खुद्रा तथा खाद्यान्न सामानहरूको बिलबिजक सन्कास्पद रहेकाले पक्राउ गरि आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले बताए।
