काठमाडौँ ,५ पुस। सरकार गठनको १०० दिन पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका विषयमा फैलाइएका हल्लाहरूलाई पूर्णतः निराधार र भ्रमपूर्ण भएको स्पष्ट पारेकी छन्। उनले चुनाव सार्ने वा रोक्ने कुनै पनि योजना सरकारको नरहेको र तोकिएकै समयमा निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार चट्टानझैँ दृढ रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “आगामी फागुन २१ गते हुने निर्वाचन लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक अवसर हो। यसलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गरिनुपर्छ।” उनले सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई राष्ट्रिय एकताको सूत्रमा बाँधिएर निर्वाचनलाई सफल बनाउन आह्वान गरिन्।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले निर्वाचनमार्फत देशलाई नयाँ दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गर्दै यसले नेपालको राजनीतिमा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उल्लेख गरिन्। उनले सरकार शान्ति, स्थायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउने दिशामा सरकार निरन्तर अघि बढिरहेको बताइन्।
प्रधानमन्त्रीको सम्बोधनपछि चुनावको तयारीप्रति जनविश्वास बढ्ने र राजनीतिक अन्योल हट्ने अपेक्षा गरिएको छ।
