चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, आक्रमणकारी बाघ डार्ट हानेर नियन्त्रणमा

समाचार

चितवन,१८ कार्तिक  । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। निउरो टिप्न जंगल गएका ४६ वर्षीय भीम महतोको बाघको आक्रमणबाट ज्यान गएको हो।

प्राप्त विवरणअनुसार, मिति २०८३ साल कार्तिक १७ गते दिउँसो करिब २:०० बजे भरतपुर महानगरपालिका–२७ निवासी महतो अन्य तीन जनासँगै निउरो टिप्न राधाकृष्ण सामुदायिक वन क्षेत्रमा गएका थिए। सोही क्रममा बाघले महतोलाई आक्रमण गरी जंगलभित्र लगेको थियो।

घटनापछि उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा घटनाबारे जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीहरूको संयुक्त समन्वयमा खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। खोजतलासका क्रममा कार्तिक १८ गते बिहान १०:५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको प्रहरीले जनाएको छ।

यसैबीच, शव फेला परेको स्थान नजिकै रहेको आक्रमणमा संलग्न बाघलाई सम्बन्धित प्राविधिक टोलीले डार्ट (बेहोस बनाउने औषधियुक्त सुई) प्रहार गरी नियन्त्रणमा लिएको छ।

घटनापछि स्थानीय क्षेत्रमा वन्यजन्तुको जोखिम र मानव–वन्यजन्तु द्वन्द्वको विषय पुनः चर्चामा आएको छ। बाघलाई नियन्त्रणमा लिएसँगै घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *