वीरगंज, १९ फागुन।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ। सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सिमा सुरक्षा बल (एसएसबी) बीच संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ भने मुख्य नाकाहरूमा सीमा सिलसमेत गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्सा गुल्म वीरगंजका डिएसपी विकास अधिकारीको नेतृत्वमा तथा एसएसबीका सुरक्षाकर्मीहरूको सहभागितामा वीरगंज–रक्सौल नाका लगायत अन्य खुला सीमाक्षेत्रमा पैदल तथा सवारीमार्फत नियमित गस्ती सञ्चालन भइरहेको छ। चुनावी अवधिभर अवाञ्छित गतिविधि, आपराधिक चलखेल, अवैध ओसारपसार तथा शान्ति–सुरक्षा भंग हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न संयुक्त निगरानीलाई तीव्र बनाइएको सुरक्षा स्रोतले जनाएको छ।
दुवै देशका सुरक्षाकर्मीबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाइएको छ। संदिग्ध व्यक्ति र सवारीसाधनमाथि कडा चेकजाँच जारी छ भने आवश्यक परे थप जनशक्ति परिचालन गर्ने तयारीसमेत गरिएको बताइएको छ। सीमावर्ती क्षेत्रका संवेदनशील स्थानहरूमा विशेष निगरानी राखिएको छ।
जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सम्बन्धित निकायहरू उच्च सतर्कतामा रहेका छन्। मतदान मिति नजिकिँदै जाँदा सीमा क्षेत्रमा सुरक्षा थप सुदृढ गरिने प्रशासनको भनाइ छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति–सुरक्षामा सहयोग गर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको प्रशासनले स्पष्ट पारेको छ।
