बिरगंजमा छापा मार्दा सशस्त्र प्रहरीमाथि आक्रमण, १२ लाख ७२ हजार बराबरको अवैध कपडा बरामद

समाचार

पर्सा, २६ माघ ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले वीरगञ्जस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। स्थानीय व्यापारी समूहले ढुङ्गामुढा तथा लाठी प्रहार गर्दा सशस्त्र प्रहरी बलका दुई वटा सरकारी सवारीसाधनमा क्षति पुगेको छ।

भन्सार छली गरेर सामान भण्डारण गरिएको आशङ्कामा वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडामाथि सोमबार बिहान छापा मारिएको हो। छापाका क्रममा करिब १२ लाख ७२ हजार रुपैयाँ बराबरको पाँच पोका कुर्ता–सुरुवाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले अनुसार छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहले सशस्त्र प्रहरी तथा भन्सार टोलीमाथि ढुङ्गा, फाटा र लाठी प्रहार गर्दै अवरोध सिर्जना गरेका थिए। आक्रमणका कारण सशस्त्र प्रहरी बलको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको उनले जानकारी दिए।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारीले गोदाम खानतलासी गर्ने क्रममा व्यापारीहरूले विरोध जनाएपछि झडप सुरु भएको बताए। उनका अनुसार आक्रमणकै क्रममा एक जना स्थानीय व्यापारीले सशस्त्र प्रहरीको एउटा मोबाइल फोन खोसेर लगेका छन्।
यता, स्थानीय व्यापारीहरूले भने सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विना कारण दुःख दिइएको आरोप लगाएका छन्। वैध कागजात देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि स्थिति बिग्रिएको उनीहरूको भनाइ छ।

यसअघि आइतबार माघ २५ गते राति सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपराचोकबाट ७१ लाख रुपैयाँ बराबरको हार्डवेयर सामान बोकेको ना ३ ख ५२५० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। भिसिटिएस बिल बिनाको उक्त ट्रकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो।

सोही घटनाको आधारमा गुप्ताले सञ्चालन गरेको गोदाममा समेत भन्सार छलिको सामान रहेको विशेष सूचनाका आधारमा सोमबार बिहान छापा मारिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए। साथै, सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

पछिल्लो समय पर्सा जिल्लामा राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा छापा मार्दा सुरक्षाकर्मीमाथि आक्रमण हुने घटनाहरू बढ्दै गएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *