वीरगञ्जमा कक्षा ११–१२ का विद्यार्थीलाई साइबर अपराध सम्बन्धी सचेतनामूलक अनुशिक्षण

समाचार

वीरगञ्ज, २५ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतको नेतृत्वमा आज बिहान करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित BPC कलेज मा अध्ययनरत कक्षा ११ र १२ का छात्रा–छात्रहरूलाई लक्षित गरी साइबर अपराध सम्बन्धी सचेतनामूलक अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका क्रममा प्रहरी निरीक्षक बस्नेतले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर बुलिङ, फेक आईडी, व्यक्तिगत सूचना चुहावट, डिजिटल गोपनीयता तथा साइबर अपराधबाट बच्ने उपायहरूबारे विस्तृत जानकारी प्रदान गर्नुभयो। साथै, विद्यार्थीहरूलाई कुनै पनि प्रकारको साइबर अपराधको शिकार भएमा तत्काल प्रहरीमा उजुरी दिन आग्रह गर्नुभयो।

अनुशिक्षण कार्यक्रम सहभागी विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी तथा ज्ञानवर्धक भएको प्रतिक्रिया आएको छ। कार्यक्रममा विद्यार्थीहरूले जिज्ञासा राख्दै साइबर सुरक्षासम्बन्धी व्यवहारिक प्रश्नहरू सोधेका थिए भने प्रहरी निरीक्षक बस्नेतले सरल र स्पष्ट रूपमा उत्तर दिनुभएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय युवाहरूलाई लक्षित गरी विद्यालय तथा कलेजस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। यस प्रकारका कार्यक्रमले साइबर अपराध न्यूनीकरण गर्न तथा सुरक्षित डिजिटल समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *