प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वीरगंज सीमामा उच्च सुरक्षा सतर्कता, स्निफर कुकुरसहित कडा चेकजाँच, आज राती १२ बजेदेखि सिमा सिल।

समाचार

वीरगंज, १८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्साको वीरगंजस्थित सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा कडा पारिएको छ।

विशेषगरी वीरगंज भन्सार क्षेत्रको मुख्य सिमानाकामा सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन सुरक्षा बेस पर्सा क्षेत्र नम्बर १ अन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिकास अधिकारीको नेतृत्वमा तालीमप्राप्त स्निफर (कुकुर) परिचालन गरी सघन चेकजाँच सुरु गरिएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती नाकाबाट आवतजावत गर्ने व्यक्ति, सवारी साधन तथा मालसामानको सूक्ष्म निरीक्षण गर्दै कुनै पनि अवैध गतिविधि हुन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ। निर्वाचन अवधिमा अवैध हतियार, लागूऔषध, विस्फोटक पदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्निफर कुकुरसहितको विशेष सुरक्षा टोली परिचालन गरिएको हो।

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन सीमाना पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको छ। प्रशासनका अनुसार सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म सीमाना पूर्ण रूपमा बन्द रहनेछ। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइने स्पष्ट पारिएको छ।

प्रशासनले सीमाना सिल गर्ने निर्णय निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने रणनीतिक कदम भएको जनाएको छ। सीमामा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ भने कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल नियन्त्रणमा लिने तयारी गरिएको छ।

स्थानीय प्रशासनले आम नागरिकलाई निर्वाचन अवधिभर सुरक्षाकर्मीलाई सहयोग गर्न, अनावश्यक आवतजावत नगर्न तथा कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।

निर्वाचन नजिकिँदै जाँदा वीरगंजसहित सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। यसले निर्वाचनलाई सुरक्षित, मर्यादित र विश्वसनीय रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रशासनले लिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *